जनहितका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट जारी सन्देश

१.  

युनेस्कोद्वारा सन् २०१८ मा अगाडि सारिएको डिजिटल लिटेरेसी ग्लोबल फ्रेमबर्कका अनुसार कुनैपनि व्यक्ति डिजिटलरुपमा साक्षर हुनका लागि आवश्यक सात किसिमका डिजिटल दक्षता यसप्रकार रहेका छन् :

  • डिजिटल डिभाइस तथा सफ्टवेयरको जानकारी र सञ्चालन सीप
  • डिजिटल प्रविधि र इन्टरनेटको प्रयोग गरी सूचना तथा डाटाको प्राप्ति गर्ने, प्रयोग गर्ने र विश्लेषण गर्ने क्षमता
  • डिजिटल प्रविधिको प्रयोग गरी सञ्चार गर्ने, सहकार्य गर्ने तथा अनलाइनमा आफ्नो डिजिटल पहिचान तथा प्रतिष्ठाको सुरक्षा गर्न सक्ने क्षमता
  • डिजिटल प्रविधिको प्रयोग गरी सामाग्री सिर्जन गर्न सक्ने सीप
  • वैयक्तिक सूचना सम्वन्धमा गोपनियताको रक्षा तथा मानव स्वास्थ्य र वातावरणमा डिजिटल प्रविधिको असर बारेमा सचेतना
  • डिजिटल माध्यममा रहेका समस्या पहिचान तथा समाधान खोज्ने सीप
  • भिन्न विधाका लागि आवश्यक विशिष्टीकृत डिजिटल प्रविधिहरु बुझ्ने, विश्लेषण गर्ने र मूल्यांकन गर्ने सीप ।

   २.

ईन्टरनेट प्रयोगकर्ताहरुले free VPN को प्रयोग गर्दा निजको डाटा चोरी हुनसक्ने,गोपनीयता भंग हुनसक्ने,अकाउन्ट ह्याक हुनसक्ने लगायतका विभिन्न सुरक्षा जोखिमहरु बढ्ने भएकोले free VPN प्रयोग नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ ।

३.

“प्रविधिको प्रयोगले मानव जीवनलाई सहज बनाएको छ । साथसाथै विकृति पनि भित्र्याइरहेको छ । सामाजिक सञ्जाल पनि त्यस्तै हो । यसको प्रयोग हामी केका लागि कसरी गर्दछौँ भन्नेमा हामी स्पष्ट हुनुपर्दछ । गुनासो, कटुता, कुण्ठा, अशिष्टता वा अभद्रता प्रदर्शनका लागि सामाजिक सञ्जालको दुरुपयोग गर्नु हुँदैन ।“

                                                                                                                                                  “डा. ओम मूर्ति अनिलको पुस्तक “जीवन्त समवन्ध” बाट साभार "

४.

"सूचना प्रविधिलाई सेवा प्रवाह र उत्पादनसँग जोड्न जरुरी छ। कुन कुन निकायका कुन कुन सेवा  अनलाइन विधिबाट प्राप्त गर्न सकिने हो ?  यस सम्वन्धमा सम्बन्धित निकायले पर्याप्त सूचना विभिन्न माध्यमबाट प्रवाह गर्नुपर्दछ भने नागरिकहरु पनि सुविधा प्रयोगका लागि अग्रसर हुनु जरुरी छ। साथै सूचना प्रविधि सम्वन्धी उद्योग र व्यवसाय फस्टाउने गरी पारिस्थितिक प्रणाली तयार गर्नुपर्दछ।" 

 ५. 

"दैनिक जीवनमा सूचना प्रविधिको प्रयोग बढेर गएको छ ।

सूचना तथा सञ्चार प्रविधिका उपकरण एवम् सामाजिक सञ्जालको प्रयोगसँगै साइबर अपराधसम्वन्धी घटनाको संख्या पनि बढिरहेको छ । साइबर आक्रमणबाट बच्न जुन पायो त्यही लिंक नखौलौँ ।

 अपरिचित व्यक्तिले इमेल वा मेसेजमार्फत दिएको प्रलोभनमा नपरौँ अनि आफ्नो एकाउन्टको पासवर्ड एवम् बैंकको पिन नम्वर गोप्य राखौँ ।“

६.

“जग्गाजमीन बाझौँ नराखौँ । खाद्यान्न बाली वा फलफूलका विरुवा लगाऔँ ।

स्वदेशमै कृषि, उद्योग, सेवा, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि सम्बन्धी कामहरु हुने वातावरण बनाऔँ । उत्पादकत्व वृद्धि नभै समृद्धि संभव छैन ।

रोजगारी र आय बृद्धि हुने खालका स्थानीय आर्थिक विकासका गतिविधिहरु अगाडि वढाऔँ ।“  

७. 

“जति जति हामी स्क्रिन टाइम बढाउँछौँ त्यति नै हाम्रो फन टाइम घटेर जान्छ, सामाजिकवाट असामाजिक बन्दछौँ, मानवीयता हराउँदै जान्छ, अनि हाम्रो जीवनमूल्य उपर नै प्रश्चन चिन्ह खडा हुन्छ । 

बेलैमा सोँचौ अन्यथा पछि पछुताउनुपर्ने समय आउनेछ।“